धनकुटा । जिल्लाका सात स्थानीय तह मध्ये साँगुरीगढी गाउँपालिकामा सवैभन्दा कम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदन अनुसार गतआर्थिक वर्ष २०८०/८१ मा साँगुरीगढी गाउँपालिकामा परीक्षण गरिएको ८९ करोड ८८ लाख ४५ हजार रुपैयाँमध्ये ३७ लाख ५३ हजार रुपैयाँमात्र बेरुजु देखिएको छ । जुन ०.४२ प्रतिशत हो ।
तथ्यांकअनुसार छथरजोरपाटी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको ९५ करोड ७४ लाख ८ हजार रुपैयाँमध्ये २ करोड ८९ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको हो, जुन कूल परीक्षण रकमको ३.०२ प्रतिशत हो । यो अनुपात जिल्लाभरकै सबैभन्दा उच्च हो ।
त्यस्तै ठूलो बेरुजु देखिएको स्थानीय तहहरुमा पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, सहिदभूमि गाउँपालिका रहेका छन् । महालेखापरीक्षकको ६२ औं बार्षिक प्रतिवेदन अनुसार पाख्रिवास नगरपालिकामा २ करोड ८६ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको
छ । जुन परीक्षण गरिएको १ अर्ब १५ करोड ८९ लाख १५ हजार रुपैयाँ रकमको २.४७ प्रतिशत हो । महालक्ष्मी नगरपालिकामा पनि २ करोड २ लाख ८२ हजार रुपैया वेरुजु देखिएको छ । जुन १.५१ प्रतिशत हो ।
अन्य पालिकामध्ये सहिदभूमि गाउँपालिकामा १ अर्ब ४ करोड २९ लाख २० हजार रुपैया रकम परीक्षण गरिएकोमा १ करोड ६१ लाख रुपैया अर्थात १.५४ प्रतिशत बेरुजु देखिएको छ । धनकुटा नगरपालिकामा १ करोड ४७ लाख ५१ हजार रुपैया बेरुजु देखिएको छ । गत आर्थिक वर्षमा यस नगरपालिकामा १ अर्ब ३३ करोड २८ लाख ७९ हजार रुपैया परिक्षण गरिएको थियो । प्रतिशतको आधारमा बेरुजु रकम १.११ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । चौविसे गाउँपालिकामा ८६ करोड १० लाख ३६ हजार रुपैया रकम परिक्षण गरिएकोमा ०.६८ प्रतिशत अर्थात ५८ लाख ५५ हजार रुपैया बेरुजु देखिएको छ ।
आर्थिक वर्ष अनुसार स्थानीय तहले खर्च गरेको सार्वजनिक रकमको परीक्षणपछि यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । बेरुजु भन्नाले खर्च विवरणमा देखिएको अस्पष्टता, प्रक्रिया विपरीत खर्च र प्रमाण नपुगेको रकमलाई जनाइन्छ ।




हुलाकी पाटी 













प्रतिक्रिया दिनुहोस्