धनकुटा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको जिल्ला पदाधिकारी, महासमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरुको संयुक्त बैठकले थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । उनका अनुसार महामन्त्री थापा कांग्रेसको भावी सभापति तथा प्रधानमन्त्रीका रूपमा समेत हेरिएकाले जिल्लाबाट उनको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो । जिल्ला सभापति राईका अनुसार विगतमा पनि सूर्यबहादुर थापा, नगेन्द्र प्रसाद रिजाल र वर्तमान प्रधानमन्त्री सुशिला कार्की धनकुटा प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेको इतिहास भएकाले पनि थापाको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो ।
बैठकले प्रत्यक्षतर्फका लागि जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मनोहरनारायण श्रेष्ठ र हरिकुमार राई लगायतको नाम समेत सिफारिस गरिएको जिल्ला सचिव विजयसन्तोषी राईले बताए ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, संविधानसभा सदस्य लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई र पूर्वजिल्ला सचिव रविन्द्र नेपाली लगायतका नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ प्रतिनिधि सभामा कमोट फागो, सिता प्रधानलगायतका नामहरू सिफारिस गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।



हुलाकी पाटी 














प्रतिक्रिया दिनुहोस्